म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतमार्फत् नेकपा विभाजन गराइयो : प्रचण्ड

281

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नियोजित षड्यन्त्र रहेको बताएका छन् । उनले पार्टीभित्रै केपी शर्मा ओली कमजोर भइसकेको बेला आफू प्रधानमन्त्री हुने निश्चित भएको दिन अदालतमार्फत नेकपा विभाजन गराइएको बताए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूसँग ७५ प्रतिशत बहुमत पुगिसकेको दाबी गरे । तर, आफू प्रधानमन्त्री हुने निश्चित हुनलाग्दा पार्टी विभाजन गराइएको बताए ।

“हाम्रो (पार्टी एकीकरणको) सपना गलत थिएन, सही थियो । देशभरमा जनताले पनि मूल्याङ्कन गरेकै थिए । तर, ओली अवसरवादी भए । उनी नसुध्रिएपछि हामीले कारबाही गरेका हौँ । हामी उतिबेला माइतीघरमा धर्ना बस्दा ओली समूहले बिचरा भनेका थिए । तर, पछि विशाल हुरीमा परिणत भयो र सेटिङ भत्कियो । पार्टी विभाजन भएको होइन, गराइएको थियो,” उनले भने ।

पार्टीभित्रैबाट ओलीको विकल्पमा आफूलाई संसदीय दलको नेता बनाइएपछि आफू प्रधानमन्त्री हुने पक्का भएको प्रचण्डको दाबी थियो । उनले भने,“संसदीय दलको नेतामा मलाई चयन गरिएको थियो । म प्रधानमन्त्री हुने निश्चित भएकै दिन उता अदालतले पार्टी दुईटा बनाइदियो ।”

नेकपासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत फागुन २२ गते फैसला गर्दै साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग नै रहेको, एकीकरण वैधानिक नभएको आदेश दिएको थियो । त्यसपछि तत्कालीन सबैभन्दा ठुलो र सत्तारुढ दल नेकपा विभाजनतर्फ लम्कियो ।

यस्तै, प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको र राजतन्त्र फर्काउने बाटोमा लागेको समेत आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...