काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको व्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् ।
सोमबार बिहान नेपाल प्रेस युनियन धनुषद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले नमान्ने बताए ।
शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, “उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक–पटक संसद् विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजपछि सर्वोच्च अदालतले संविधानको व्यख्या गर्दै जाँदा शरेबहादुरजी प्रधानमन्त्री बन्नुभएको हो । त्यसमा सेटिङको कुरा छैन ।”
असार २८ गते सर्वोच्चको परमादेशपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए । तर, संवैधानिक परिषदमा भने सेटिङ भएको भन्दै त्यसको खोजी नीति हुनैपर्ने उनको भनाइ थियो ।
“सभापतिलाई पार्टीको मिटिङ गरौँ, छलफल गरौँ, अदालतमा के–के सेटिङ भएको छ । निकास निकालौँ भनेको छु,” पौडेलले भने ।