काठमाडौँ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जानु बेठिक भएको बताएका छन् ।
आइतबार ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको काठमाडौँमा विमोचन गर्दै उनले न्याय क्षेत्रका प्रतिष्ठित व्यक्ति, कानुनविद्हरुसंग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्ने बेला प्रधानमन्त्री विदेश भ्रमणमा जानु उचित नभएको उनले बताएका हुन् ।
कानुनमन्त्रीले यो समस्याको समाधान गर्न नसक्ने बताउँदै पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको बताए । “आज हाम्रो सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । तर, आज बेलायतको सामुन्ने संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । के कसरी हामीले हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौँ,” उनले भने ।
उनले सारा न्यायाधीशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको अडानमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्नसमेत तेर्स्याए ।
उनले भने,“न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोड्दिन । केही नभएपछि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?”
“सरकारले आफ्नो ट्रयाक टु डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यलाई हल गर्नुपर्दैन ? कानुनमन्त्री जसले ल्यान्ड गर्न सक्दैन ?” पूर्वराष्ट्रपति यादवले प्रश्न गरे ।
प्रधानन्यायाधीशले सरकार र संवैधानिक निकायमा हिस्सा खोज्नु नेपालमा अहिलेसम्म नभएको घटना भएको उनले बताए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । संविधानमा भएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएको भन्दै आलोचना गरे ।
पूर्वराष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भीर नभएकोमा चिन्ता जनाएका छन् ।