अलमुतारीलाई स्वागत गर्दै मन्त्री गहतराजले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्”

188

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीलाई स्वागत गरेका छन् ।

शनिबार नेपाल फर्किएलगतै आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अलमुतारीलाई मन्त्री गहतराजले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अलमुतारीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री गहतराजले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अलमुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री गहतराजले भन्नुभयो, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”

स्वागतपछि प्रतिक्रिया दिँदै अलमुतारीले नेपाल र नेपालीहरुको मायाले आफू पुनः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविष्मरणीय क्षण भएको बताउँदै अलमुतारीले नेपालले आफूलाई धेरै माया दिएको बताए ।

शनिबार नेपाल फर्किएका अलमुतारी थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...