काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस महाधिवेशनसमेत गर्न नसक्ने गरी बुढो भएको बताएका छन् ।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,“५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।”
मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने,“महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।”
उनले भने,“कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।”
उनले कांग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबी समेत गरे ।