काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलनका सपना पूरा हुन नसकेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान गृह जिल्ला चितवनमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका कारण पार्टी एकीकरण (माओवादी केन्द्र) र एमालेबाट देखिएको सपना पूरा हुन नसकेको आरोप लगाएका हुन् ।
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता गरी बनाइएको नेकपाकै कारण देशमा पहिलोपटक दुईतिहाइ बहुमत नजिकको कम्युनिस्ट सरकार बनेको तर ओलीले गर्दा त्यो भताुभंग भएको आरोप प्रचण्डले लगाए ।
“मैले नै राजनीतिक अस्थिरता यो देशले थेग्न सक्दैन अब स्थायित्व चाहिन्छ, समाजवाद उन्मुख विकासको एउटा मोडल हामीले दिनुपर्छ भनेर एकताको प्रस्ताव राखेको थिएँ,” प्रचण्डले भने,“पार्टीभित्र बैचारिक राजनीतिक सांगठानिक सत्ता नेतृत्व जस्ता असाध्यै संवेदनशील विषयमा एउटा सहमति बनाएर नेकपा निर्माण पनि गर्यौँ । यसबाट धेरै ठुलो अपेक्षा जनतामा थियो । तर, तीन वर्ष पुग्दानपुग्दै पार्टीभित्र एउटा यस्तो प्रवृत्ति देखापर्यो जुन नेपाली जनताले ७० वर्ष लडेर ल्याएको परिवर्तनलाई उल्ट्याउन खोज्ने प्रवृत्तिको रुपमा प्रकट भयो ।”
प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी, प्रतिगामी भएको बताए । ओली प्रवृत्तिविरुद्ध सडकमा जानुपर्ने अवस्था बनेको भन्दै प्रचण्डले देशलाई समृद्ध गर्ने सपना ओली प्रवृत्तिका कारण सम्भव नभएको बताए ।
“हामीले सपनाहरु जे देखेका थियौँ, कम्युनिस्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओलीले प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन,” प्रचण्डले भने ।
ओलीले थाइल्यान्ड, इटाली र रोमबाट महँगा महँगा सामान ल्याएर थुपारेको समेत उनले आरोप लगाए । प्रचण्डले बालुवाटारमा ओलीको उक्त रवाफ देखेर शेरबहादुर देउवा पनि छक्क परेको बताए ।
“केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा सामान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ,” प्रचण्डले भने,“बाफरे बाफ केपी ओलीको दम्भ ! उनले के ठानेको र ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन् ।”