ओलीलाई देउवाको जबाफ : परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार

339

काडमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे ।

नेपाल तरुण दलले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतबाटै भएको तर्क समेत गरे ।

“परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्ता लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई । हाम्रो गठबन्धनले न्यायालय सम्बन्धमा उठेका सवालहरुमा सरसल्लाह, छलफल गर्ने छ । यसमा धेरै कुरा छैन । मैले तपाईंहरुलाई भनेके भन्यै छु, हमाल हाम्रो पार्टीको मान्छे हुन् । बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छ्रैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,” उनले भने ।

प्रधानमन्धी देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

“केपी शर्मा ओलीलाई संसद् भंग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई÷दुईपटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” देउवाले भने । पाँच दलको गठबन्धनबाट बनेको सरकारसँग स्पष्ट बहुमत रहेकाले जनादेश छैन भन्नुको कुनै अर्थ नरहेको उनले बताए ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

Share This:
सम्बन्धित खबर
Loading...