काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले राजनीतिक दलहरुबीच सहमतिपछि मात्रै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन् ।
सोमबार बिहान उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री खड्काले गठबन्धनमा मात्र नभइ एमालेको सहमतिमा एमसीसी पास हुने बताए ।
एमसीसीबारे निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग छलफल गर्ने उनको भनाइ थियो । “एमसीसीबारे गठबन्धनभित्र त सहमति हुनैपर्यो । एमालेको पनि सहमति आवश्यक हुन्छ,” खड्काले भने ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्का दुवै सदनमा एमसीसी पारित गर्नुपर्छ भनेको बताउँदै उनले एमसीसीमा संशोधनलगायतका सबै विषयमा छलफल गरेर अघि बढ्ने खड्काको भनाइ थियो ।
यस्तै, त्रियुगा नगरपालिका–१ जोगीदहमा निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माणका लागि वर्तमान सरकारले स्वीकृत गरेर बजेट व्यवस्थापनको तयारी गरिएको उनले जानकारी दिए ।