टी–२० विश्वकपः भारत र पाकिस्तान भिड्दै

355

काठमाडौँ । युएइमा जारी टी–२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । विश्वकपको सुपर १२ अन्तर्गत आज दुबइ इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७ः४५ बजे भिड्ने छन् ।

समूह २ मा रहेका दक्षिण एसियाका दुई हस्ती पाकिस्तान र भारत आमनेसामने भइरहँदा कसले बाजी मार्ला ? भनेर विभिन्न अड्कलबाजी भइरहेका छन् । भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। दुवै टीम एक–एकपटक च्याम्पियन बनिसकेका छन् ।

राजनीतिक रूपमा पनि चर्चाको शिखरमा रहेका यी दुई देशबीचको खेल पनि चर्चामै रहने गर्दछ। भारत र पाकिस्तानबीचको क्रिकेट भीडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । क्रिकेटमा निकै बलिया दुई हस्तीबीचको खेलले पनि यसपालिको विश्वकप हेर्न लायक रहनेछ। यी दुईबीचको खेल बिरलै देख्न सकिन्छ ।

एक अर्को टिमविरुद्ध खेल नै अस्वीकार गर्ने यी टोली एउटै समूहमा परेपछि समूह चरणका खेलमै धमाका हेर्न पाइनेछ । दुई टीमबीच अन्तिम टी–२० खेल १९ मार्च २०१६ मा सम्पन्न भएको थियो । आइसीसी टी–२० विश्वकपको यो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । भारत र पाकिस्तान टोली टी–२० विश्वकपमा पाँच पटक आमने–सामने भएका छन् । यी सबैमा भारतले पाकिस्तानलाई हराइसकेको छ ।

समग्र टी–२० को बारेमा कुरा गर्ने हो भने भारत र पाकिस्तानले आठपटक खेलिसकेका छन् । यसमा भारतले सात र पाकिस्तानले एकपटक जितेको छ । २००८ को मुम्बई आतंकवादी हमलापछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन ।

उही समयमा नियन्त्रणको रेखामा लगातार युद्धविराम उल्लंघन र फेब्रुअरी २०१९ मा पुलवामा हमलापछि यो सम्बन्ध झनै खराब भयो । २००७/०८ सिजन पछि यी दुई टोलीले टेस्ट शृंखलामा सामना गरेका छैनन् ।

यद्यपि दुवै टोली आइसीसी टुर्नामेन्टमा एकअर्काविरुद्ध खेलेका छन् । भारत र पाकिस्तानले नौ वर्षदेखि कुनै द्विपक्षीय शृंखला खेलेका छैनन् । दुई टीमबीच अन्तिम टी–२० र वानडे शृंखला डिसेम्बर २०१२ मा भएको थियो ।

टी–२० सीरिज १–१ ले बराबरी भयो भने वानडे शृंखला पाकिस्तानले २–१ ले जितेको थियो । २०१७ देखि भारतले पाकिस्तानविरुद्ध केवल पाँच वानडे खेल खेलेको छ । यी सबै खेलहरू आइसीसी टुर्नामेन्टको हिस्सा थिए । यसमा २०१७ मा च्याम्पियन्स ट्रफीमा दुई खेल, २०१८ मा एसिया कपमा दुई खेल र २०१९ विश्वकपमा एक खेल खेलिएको थियो।

टी–२० विश्वकपमा दुई टोलीबीचको भीडन्त
२००७ को टी–२० विश्वकप

१. समूह चरणः भारतले पाकिस्तानलाई हरायो
२.फाइनलः भारतले पाकिस्तानलाई पाँच रनले हरायो

२०१२ को टी–२० विश्वकप
३.सुपर ८ः भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

२०१४ को टी–२० विश्वकप
४.समूह चरणः भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

२०१६ को टी–२० विश्वकप
५. सुपर १०ः भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

Share This:
सम्बन्धित खबर
Loading...