खानेपानी कार्यालयका निमित्त प्रमुख कुशुवाहामाथि दुर्व्यवहार गर्ने १७ जनाविरुद्ध मुद्दा दर्ता

290

काठमाडौँ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्ने १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बिहीबार दिउँसो उनलाई कुटपिट गर्दै कार्यालयबाटै उठाएर अर्धनग्न बनाइ शरीरमा हिलो छ्यापेर जनकपुर परिक्रमा गराएको आरोपमा जनमत पार्टीका १७ जना नेता÷कार्यकर्तामाथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार कर्मचारीलाई अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिवकांश सिरहा, सर्लाही र महोत्तरीका छन् । उनीहरुविरुद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा चलाइएको हो ।

जनकपुरधाम नगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको बसोबास रहेको घर छेउको सडकमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहामाथि उनका कार्यकर्ताले दुर्व्यहार गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुरुमा १० जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई रिहा गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि राउतका कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि थप ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि १७ जनामाथि मुद्दा दर्ता गर्ने र बाँकीलाई छोड्ने निर्णय भएको डिएसपी बस्नेतले बताए ।

पक्राउ परेका ४५ जनालाई बिहीबार अबेर राति हिरासतमुक्त गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...