काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाबुको विरासतले मात्र आफू राजनीतिमा नआएको बताएका छन् । राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको सिंहले बताए ।
बिहीबार धादिङको धुनवेशीमा पार्टीको नगर कार्यसमितिको कार्यालय भवन उद्घाटन समारोहमा बोल्दै आफू नेपाल विद्यार्थी संघ, काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा लामो समयदेखि रहेको उनले विगतको स्मरण गराए ।
असफल भएर आफू राजनीतिमा नआएको उनको तर्क छ । गणेशमानको परिवारले सधैँ त्याग मात्र गरेको भन्दै अब पार्टीको नेतृत्व दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ ।
नेता सिंहले सभापति शेरबहादुर देउवाले पार्टीभित्र परम्परा र मूल्य/मान्यताविपरीत काम गरेको आरोप लगाएका छन् । जसले गर्दा पार्टी कमजोर बनेको उनको जिकिर छ । सिंहले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताए ।
नेता सिंहले पार्टीको आसन्न १४औँ महाधिवेशन जसरी भए पनि तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिए ।
“महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्छ , क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,” उनले भने,“यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनस पर्दछ , यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।”
प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति देउवाको गृह जिल्लामा प्रहरीको घेराभित्र महाधिवेशन गरिएको आरोप लगाउँदै नेता सिंहले त्यसले गर्दा पार्टीको छबी बिग्रिएको बताए ।