काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुट उपगुटको अन्त्य हुने बताएका छन् । गुट उपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्न बताए ।
बागलुङस्थित नेपाली कांग्रेसको काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिंगो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे ।
“हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन,” उनले भने,“महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”
मुलुकको संविधानको खेलवाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताए । पौडेलले एकलौटी ढंगले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेको समेत आरोप लगाए ।
उनले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुट उपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरे ।