काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे वर्तमान सरकार एकहप्तामा ढल्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गरेका हुन् । ओलीले एमालेले प्राप्तिलाई नभई विजयलाई पहिलो मान्ने बताए ।
ओलीले अर्ली इलेक्सन भए आफूहरु मान्न तयार रहेको पनि बताए । त्यस्तै, उनले एमालेको जस्तो नीति तथा कार्यक्रम अरु कुनै पनि पार्टीमा नभएको बताए । नेपालको विकासमा केही पार्टीले धक्का पुर्याएको आरोप लगाउँदै ओलीले एमालेलाई अबको चुनावमा कसैले पनि रोक्न नसक्ने जिकिर गरे ।
साठगाँठ नगरिकन आगामी चुनावमा अन्य दलले एउटा वडा पनि जित्ने अवस्था नरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले कांग्रेस आउँदो चुनावमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि कांग्रेससँग नागरिकमा जाने कुनै मुद्दा नरहेको बताए । ओलीले आफू नेतृत्वको सरकारले मुलुकमा विकासको बाढी ल्याएको तर्क गरे ।
सरकारको अहिलेको जस्तो बेहाल कहिल्यै, कुनै कालमा पनि नभएको भन्दै उनले सरकारमा रहेका दलहरुलाई देश बनाउनेभन्दा पनि साठगाँठ जोगाउने चिन्ता धेरै रहेको जिकिर गरे । त्यस्तै, उनले अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार भएको टिप्पणी गर्दै ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको तर्क गरे ।
अध्यक्ष ओलीले बाटो बिराएकालाई एमालेको ढोका सदैव खुला रहने भन्दै माधव नेपाललाई भने अब एमालेमा कुनै ठाउँ नरहेको बताए ।