अधिकारकर्मी रुबी खानले तोडिन् अनशन, ६ सदस्यीय छानबिन समिति गठन

302

काठमाडौँ । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन गठन गर्ने सहमति गरेपछि महिला अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छन् । साथै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका छन् ।

मंगलबार सरकार र आन्दोलनरत पक्षबीच भएको वार्तामा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो ।

समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ । सहमतिपछि काठमाडौँको माइतिघरमा मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अधिकारकर्मी रुबी खानको अनसन तोडाएका थिए ।

सो क्रममा प्रवक्ता पोखरेलले समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्ने बताए । समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले दोषीमाथि कारबाही गर्ने उनले बताए । छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

अनसन तोडेपछि अधिकारकर्मी रुबी खानले आफूहरुको आन्दोलन दुई महिलाका लागि मात्र नभएर मुलुकभर नै हिंसामा परेका महिलाहरुको न्यायका लागि आन्दोलन भएको बताइन् । उनले सरकारले गरेको लिखित सम्झौता अनुसार कारबाही नभए योभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

बाँकेमा भएका दुई घटनाका विषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै महिला अधिकारकर्मी लगाएतको समूह नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौँ आएका थिए । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै उनीहरुले माइतिघरमा धर्ना दिँदै आएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...