अल्मुताइरीको आक्रोश : ‘साफले अन्याय गर्‍यो, भारतलाई उपाधि दिलाउन ममाथि कारबाही’

351

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिबन्धपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा प्र्रशिक्षक अल्मुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए । उनले साफले आफ्नो नियमावलीविपरीत फाइनल खेलका प्रतिबन्ध लगाएको बताए ।

“साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइबी साँध्न साफले कारबाही गरेको भन्ने लाग्छ । तर, यो कारबाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारबाही भएको हो,” उनले भने ।

उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि व्यक्त गरे । “मलाई निकै दुःख लागेको छ । साफले मलाई किन निशानमा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारका लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,” उनले थपे ।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए । “यो निर्णय सही भएन । मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो,” उनले भने,“भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो । यो सरासर अन्यायपूर्ण निर्णय हो ।”

प्रशिक्षक अल्मुताइरीले नियमविपरीत कारबाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केही अपेक्षा गर्ने भन्ने प्रश्न गरे । “साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधैँ भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारबाही गर्नु ठिक भएन,” उनले भने ।

अल्मुताइरीले आफू मैदानभित्र नभए पनि टोलीले उपाधिका लागि खेल्ने बताए । उनले भने,“म त्यहाँ भए पनि÷नभएपछि टोलीले उपाधिका लागि खेल्ने छ । तर, यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन ।”

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे साफको निर्णयका विषयमा पत्राचार पनि गरिसकेको जनाएको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अल्मुताइरीलाई प्रतिबन्ध लगाउनु उचित नभएको भन्दै साफलाई पत्राचार गरेको छ । तर, यसबारे साफले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले शनिबार राति ८ः४५ बजे भारतसँग खेल्दै छ ।

Share This:
सम्बन्धित खबर
Loading...