गठबन्धनको सरकार हुँदा क्षमतावानलाई मन्त्री बनाउन सकिएन, उचित जिम्मेवारी दिन्छु : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले पार्टीका महत्वपूर्ण नेताहरु मन्त्री बन्नबाट छुटेको बताएका छन् ।
शनिबार बालुवाटारमा ‘विश्वेश्रप्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनःगठनका क्रममा कांग्रेसका महत्वपूर्ण नेताहरु छुटेका र उनीहरुलाई उचित जिम्मेवारी दिने आश्वासन दिए ।
उनले भने,“शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर, गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान् र योग्य साथीहरु मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।” प्रधानमन्त्री देउवाले भोलिका दिनमा अरुलाई उचित जिम्मेवारी दिने बताए ।
प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले शुक्रबार मन्त्रिमण्डललाई पूर्णता दिएका थिए । त्यसक्रममा कांग्रेसबाट ४ जना नयाँ मन्त्री थपिएका थिए । मन्त्रिमण्डल पुनर्गठन गर्दा देउवाले पार्टीको कोटाबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाललाई मन्त्री बनाएपछि आलोचना भइरहेको छ ।
मन्त्रिपरिषद् विस्तारपछि उत्पन्त असन्तुष्टी र आलोचनालाई सम्बोधन गर्ने प्रयास गर्दै प्रधानमन्त्री देउवाले आगामा दिनमा सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् । यद्यपि देउवाले गैरसांसद् गजेन्द्र हमाललाई मन्त्री बनाउनुपर्ने कारणबारे भने केही पनि बताएनन् ।