बालुवाटार बैठक : मन्त्रीको क्षतिपूर्ति मुख्यमन्त्री !

91

काठमाडौँ । सत्ता गठबन्धनका दलहरूबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ ।

संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीलाई मनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन् ।

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै एकीकृत समाजवादीलाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए ।

‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरौँला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने ।

नेपाल गठबन्धन बैठक छाडेर पार्टीको स्थायी कमिटी बैठकस्थल पुगेका छन् । जहाँ उनले संघीय र प्रदेश मन्त्रिपरिषद् विस्तार र हेरफेरका विषयमा सल्लाह र निर्णय लिने बताइएको छ ।

नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुईवटा प्रदेशमा गठबन्धन दलको बहुमत छ ।

Share This:
सम्बन्धित खबर
Loading...