जनकपुर बमकाण्ड : उच्च अदालतले घटायो सञ्जय साहको कैद सजाय

287

जनकपुरधाम । जनकपुर बम काण्डा मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टकला’को कैद उच्च अदालत जनकपुरले घटाएको छ । आइतबार अबेर रातिसम्म उच्च अदालतका न्यायाधीशले पाँच वर्ष सजाय कम गरेर फैसला सुनाएका हुन् ।

यसअघि जिल्ला अदालतले फैसला सुनाउँदै १२ वर्ष कैद तोकेकोमा उच्च अदालतले ५ वर्ष घटाएर ७ वर्षमात्र कायम गरेको छ । न्यायाधीशद्वय रमेश ढकाल र धिरबहादुर चन्दको इजलासले ज्यान मार्ने उद्योगमा सजाय कम गर्ने फैसला सुनाएको हो ।

दुई साताको बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले पाँच वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकिदिएको रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको बिस्फोटमा ५ जनाको ज्यान गएको थियो । करिब ३२ जना घाइते भएका थिए । सो घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो ।

आरोपीतहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता भएको थियो । दुवै मुद्दामा फैसला गर्दा जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो ।

यसका अतिरिक्त हातहतियार तथा खरखजना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजायसमेत भुक्तान गरिसकेका छन् ।

जिल्ला अदालतकै फैसलाअनुसार साह हाल ललितपुरको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...