काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको संस्थापन पक्षले दम्भ देखाएको आरोप लगाएका छन् । पार्टी विवाद समाधान गर्नुपर्छ भनेर बोल्दा पदाधिकारीहरुले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उनले बताए ।
काठमाडौँ महानगरमा विजयी पदाधिकारीहरुलाई आज बिहान ठमेलको चाक्सिबारीस्थित आफ्नो निवासमा बधाई दिएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता सिंहले सो कुरा बताएका हुन् ।
“दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने,” चाक्सीबारीमा सोमबार उनले प्रश्न गरे,“दम्भ त जो पार्टी सत्तामा, संस्थापनमा छ उनीहरुले देखाएका छन् । केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्यो, यसमा कुरा उठायो भने पदाधिकारीहरु स्यालको हुइँय्याजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन् ।”
पार्टी पदाधिकारीहरुले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए । “काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरु को हुन् ?” उनले प्रश्न गरे,“यो पार्टीमा सबैको लगानि छ, पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?”
पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेको बताउँदै उनले १४औँ महाधिवेशनबाट जिम्मेवार नेताको हातमा नेतृत्व पुर्याउन नेता÷कार्यकर्ताहरुलाई आह्वान गरे । काम गर्न सक्ने नेताहरु अब अगाडि बढ्नुपर्ने उनले बताए । उनले असफल नेताहरुलाई अब नेतृत्वमा पुर्याउन नहुने पनि बताए ।
काठमाडौँ महानगरपालिकामा विजयी नीलकाजी शाक्य नेतृत्वको टोलीलाई नेता सिंहले खादा ओढाएर बधाई दिएका थिए ।