एमालेलाई बहुमतका साथ सुदृढ स्थितिमा पुर्‍याएर नेतृत्व छोड्छु : ओली

83

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका साथ सुदृढ स्थितिमा पुर्‍याएर नेतृत्व छाड्ने बताएका छन् ।

आइतबार ललितपुरमा पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि उठेका प्रश्नको जबाफ दिँदै अध्यक्ष ओलीले पार्टीलाई कुनै मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुराएर मात्र नेतृत्व छाड्ने बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड–माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए । उनले देश र जनताले देखाएको विश्वास एक इञ्च पनि तलमाथि हुन नदिने दाबी गरे । अध्यक्ष ओलीले देश बनाउने कर्तव्य एमालेको रहेको भन्दै देश बन्न सकेन भने यसको दोष आफ्नो काँधमा पर्ने धारणा राखे ।

ओलीले सुशासन, समृद्धिका विषयमा अरू राजनीतिक पार्टीसँग एमालेको भिन्नता रहेको उल्लेख गरे । एमाले नेतृत्वको सरकारले गरेको असाधारण विकासको कामलाई कसैले उछिन्न नसक्ने ओलीले तर्क गरे । ओलीले आफ्नो देवत्वकरण भयो भन्नु विरोधीहरुले चलाएको हल्ला मात्र भएको भन्दै पार्टीमा लिडरसिप हुने र लिडरसिप वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने बताए ।

ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको धारणा पनि राखे । विरोधीहरू आफू बाँचिरहेकाले र अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर विरोधीहरु चिन्तित रहेको उनले तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...