सङ्खुवासभा कांग्रेस अधिवेशन : सहमति नभएपछि मतदान

334

खाँदबारी । सङ्खुवासभामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि मतदान प्रक्रिया सुरु भएको हो ।

जिल्ला अधिवेशनमा सहमतिमा नै सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि सहमति नजुटेपछि शनिबार साँझ साढे ६ बजेबाट मतदान प्रक्रिया सुरु गरिएको हो ।

नेपाली कांग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री दीपक खड्का र राईबहादुर राईबीच प्रतिस्पर्धा हुँदै छ । सभापति पदका लागि पूर्वराज्यमन्त्री खड्का बलिया उम्मेदवार देखिएका छन् ।

त्यसैगरी जिल्ला उपसभापति पदमा शेरबहादुर बन, अन्नत गौली र रामकुमार जिमीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा तीन प्रतिस्पर्धी रहेका छन् । जसमा छत्रमणी काफ्ले, कुमारबाबु अधिकारी र टकमान घले प्रतिस्पर्धामा छन् । सहसचिवमा किशोरकुमार गुरूङ, पासाङ भोटे, विमन पराजुली, सुवास कालाखेती, सूर्य ओझा चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत भरतराज उपाध्यायले जानकारी दिए ।

खाँदबारीको पोखरी पार्कमा निर्वाचन क्षेत्र नम्बर १ र २ को फरक–फरक ठाउँमा दुईदुई वटा वालेट बक्स राखिएको छ । जिल्ला सभापतिसँगै कार्यसमितिमा ४२ पद र महाधिवेशन प्रतिनिधिका लागि २६ पदमा मतदान सुरु भएको हो । संखुवासभामा एक हजार तीन सय ८९ प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...