बागलुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।
माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे ।
प्रतिकृयावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपिलसमेत गरे आफूले देशमा ठुलो कम्युनिस्ट शक्ति निर्माण गरि देशलाई समृद्धितर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरेतापनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भएको प्रचण्डले उदघोष गरे । अब फेरि जनताको घरदैलोमा माओवादी आफना एजेन्डा र उपलब्धिसहित जानु पर्ने बताए ।
सम्बोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केहीदिन लम्बिन सक्ने संकेतसमेत गरेका छन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए । “माधवजीसँग फोनमा कुराकानी भएको छ । उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,” प्रचण्डले भने, “डाक्टरले केहीदिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केहीदिन ढिला हुनसक्छ । तर, अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।”
सो अवसरमा प्रचण्डले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्याउनु पर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टीले नयाँ तरिकाले अगाडि बढ्ने बताए । उनले अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।
“हामी केन्द्रमा एकता अथवा गठबन्धन कायम राख्ने विषयमा छलफल चलाइरहेका छौं,” उनले भने, “तपाईंहरुले पनि अन्य पार्टीका साथीहरुसँग छलफल चलाएर वातावरण बनाउनुहोस् ।”