इपिएल टी–२० क्रिकेटः विराटनगरमाथि भैरहवाको सहज जित

277

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पहिलो जित हात पारेको छ । आज भएको खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि भैरहवा र चितवन टाइगर्सबीचको खेल वर्षाले अवरुद्ध हुँदा रद्द भएको थियो ।

विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।

भैरहवाको जितमा श्रीलंकाका ब्याटर उपुल थारंगाले अविजित ३४ रनको पारी खेले । यस्तै, प्रदीप ऐरीले २२, तामिम इक्बाल र रोहितकुमार पौडेलले समान १२–१२ रनको योगदान दिए ।

यसअघि कीर्तिपुरस्थिति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७।४ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाएको थियो ।

विराटनगरका लागि दिलशान मुनावीराले सर्वाधिक २५ रन जोडे । यस्तै, सुमित महर्जनले १३, आशिफ शेख र अनिल साहले समान ११–११ रन तथा बसन्त रेग्मीले नटआउट १० रनको पारी खेले ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले समान ३–३ तथा अविनाश बोहराले २ विकेट लिए ।

जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा राइनोजसँग समान ३ अंक भए पनि भैरहवा रनरेटका आधारमा पहिलो स्थानमा रहेको हो । यस्तै, पोखरा दोस्रो, काठमाडौँ किङ्ग्स–११ तेस्रो र चितवन टाइगर्स चौथो स्थानमा रहेको छ । विराटनगर र ललितपुर अंकविहीन रहँदै पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...