एमालेका १० टोलीको सुझाव : कार्यकारी पदमा दुई कार्यकालभन्दा रहन नपाइने, उपाध्यक्ष ७ जना राख्नुपर्ने

386

काठमाडौँ । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७/७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७/७ जना राख्नुपर्ने सुझाव दिएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसा १० वटा टोलीले पार्टीलाई अघि बढाउने गरी विभिन्न कोणबाट सुझाव दिएको जानकारी दिए ।

“१० वटा समूहका टोली नेताले सुझाव दिइसक्नु भएको छ,” उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने,“समूहबाट आएका सुझावबारे टोली नेताले भोलिको बैठकमा थप प्रष्ट पार्नु हुनेछ । साथै अध्यक्ष केपी शर्मा ओलीले पनि समूहबाट आएका सुझावबारे सम्बोधन गर्ने कार्यक्रम छ ।”

भट्टराईका अनुसार पार्टीलाई गतिशील बनाउन एक व्यक्तिलाई दुई कार्यकाल मात्रै एउटा पदमा दोहोर्याउने गरी अघि बढ्न समूहले जोड दिएका छन् ।

“एउटा व्यक्ति दुई कार्यकालभन्दा नरहने भन्ने विधानमै छ । त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव आएको छ,” उनले भने,“७० वर्षे उमेर हदलाई पनि कायमै राखेर जानुपर्छ भन्ने कुरा आएका छन् ।”

एमाले कम्युनिस्ट आन्दोलनको एकताको प्रतिक र प्रवृति भएकाले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यभार एमालेले नै पूरा गर्नुपर्ने सुझाव बैठकमा प्रस्तुत भएको उनले जानकारी दिए ।

कम्युनिस्ट पार्टीसँग छलफल गरेर विभाजनकारी प्रवृत्तिमाथि संघर्ष गर्दै एउटै पार्टी बनाउने कार्यदिशा पार्टीले तय गर्नुपर्ने सुझाव पनि आएको भट्टराईले बताए ।

यस्तै, नीति निर्माण, जनप्रतिनिधि, पार्टीको नेतृत्वमा समेत युवाहरुको उल्लेख्य सहभागिता बढाउन पनि सुझाव आएको उनले जानकारी दिए ।

महिला, जनजाति, दलित, अपांगता भएका व्यक्तिहरुलाई समावेश गरेर राष्ट्रिय चरित्र र समावेशी खालको पार्टी बनाउनुपर्ने सुझाव टोलीका नेताहरुले दिएको उनको भनाइ छ ।

भोलि बिहान ११ बजे पुनः बैठक बस्ने र आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले जबाफ दिने भट्टराईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...