काठमाडौँ । वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा प्रवेश गरेकी छन् ।
लीमाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजनीति गर्ने भएकी हुन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठनामार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।
अधिकारीले ठुलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।
“मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहेको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैँ बनाऔँ, महिलाका नाममा घरजग्गाको स्वमित्व जस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठुलो भूमिका निर्वाह गरेको छ,” लीमाले भनिन्,“तर, मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।” राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभइ दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।
लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् ।