एमाले केन्द्रीय कमिटी बैठक : तीन प्रस्तावमाथि छलफल गर्न १० समूहमा विभाजन

144

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेस गर्ने विभिन्न तीन प्रतिवेदन पेस भएको छ ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस भएको हो ।

यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बैठकबाट पारित भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ जसमा सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, विभागीय प्रदेश र विशेष प्रदेश समूह रहेका छन् ।

शनिबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निष्कर्ष पेस गर्ने र पारित गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उहाले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केही समय लाग्ने र १० बुँदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताए ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताए । ओलीले विभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखे । उनले आगामी मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदै छ । त्यसको तयारी स्वरुप एमालेले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...