काठमाडौँ । राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाको कमजोरीका कारण धेरै नकरात्मक प्रतिक्रिया उत्पन्न हुने बताएकी छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद् वलीले त्यो परिणामलाई रोक्नका लागि सभामुख इमान्दार हुनुपर्ने बताएकी हुन् ।
वलीले सभामुखले आफ्नो कुर्सीको महत्व राख्न नसक्दा राष्ट्रियसभामा त्यसको असर परेको र विभाजन भएको समेत बताइन् । सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाबाट सभामुखले राजीनामा दिनुपर्ने माग गरिन् ।
“कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरु उत्पन्न हुन्छन् । धेरै रोहरु जन्मन्छन्, जसरी छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ । त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरु उत्पन्न हुन सक्छन् । त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नका लागि सभामुख इमान्दार हुनुपर्छ,” वलीले भनिन् ।
उनले भनिन्,“सभामुखज्यूले त्यो कुर्सीको महत्व राख्न सक्नुपर्छ, महत्व राख्न नराख्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुन पुग्यो । अहिले प्रतिनिधिसभालाई सभामुखज्यूले बिरामी बनाउनुभएको छ । सभामुखज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेसन नै गर्नुपर्छ ।”
उनले राष्ट्रियसभा र प्रतिनिधिसभा एक अर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि नबढ्ने बताइन् ।