काठमाडौँ । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्ने भएका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले बताए ।
गठबन्धनमा रहेका एक दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागेको हो ।
अध्यादेश खारेज भएपछि मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भएको एक नेताले जानकारी दिए । यादवले अध्यादेशले तत्काल राजनीतिक पार्टी र भविष्यमा मुलुकलाई अस्थिरतातर्फ लैजाने भएकाले तत्काल खारेज गर्नुपर्ने अडान राखेका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यावदले बताए ।
मन्त्रिपरिषद् विस्तार सन्दर्भमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर, जसपाले भने अध्यादेश खारेज नभइ मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन ।
दल विभाजनसम्बन्धी अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।