उपत्यकामा चाडवाड लक्षित सुरक्षा योजना लागु : १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

429

काठमाडौँ । नजिकिँदै गरेको बडादसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ चाडपर्व विशेष सुरक्षा योजना लागु गरिएको महाशाखाले जनाएको छ ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले जानकारी दिए ।

चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि चेकजाँचलाई समेत कडाई पार्ने उनले बताए । चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने कुरालाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरी कडाई गरिने प्रवक्ता शर्माले बताए ।

त्यस्तै थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ । चाँडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ति परिचालन गर्ने योजना रहेको महाशाखाले जानकारी दिएको छ । त्यस्तै उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...