काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीबाट फुटेर गएकाहरुले कुनै राजनीतिक हैसियत बनाउन नसक्ने बताएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन सम्बोधन गर्दै पोखरेलले एमालेबाट बाहिरिएका नेता माधव नेपालहरुको कुनै राजनीतिक हैसियत नबनाउने बताएका हुन् ।
“एमालेबाट चोइटिएर जानेहरु सकिन्छन्, मासिएर जान्छन्,” उनले भने, “विभाजनमा जानेहरुको भविष्य अन्धकारमा जान्छ । उनीहरुको भविष्य अध्यारो सुरुङभित्र पसिसकेको छ ।”
उनले अहिले मुलुक दुई वटा राजनीतिक ध्रुवमा बाँडिएको पनि उनले बताए । पोखरेलले एउटा ध्रुवको नेतृत्व एमालेले गरिरहेको र अर्को दक्षिणपन्थी ध्रुवको नेतृत्व कांग्रेस र माओवादीको गठबन्धनले गरिरहेको पनि उनले बताए ।
“मुलुकको राजनीति अहिले दुई ध्रुवमा छ,” उनले भने,“प्रगतिशीलहरुको नेतृत्व एमालेले गरिरहेको छ । राजनीतिको मूलधार पनि यसैमा समाहित छ ।”