आलोचना तीव्र बनेपछि प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गर्‍यो १५ वटा ‘सुधार’का काम

474

काठमाडौँ । सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले भने कामको फेहरिस्त सर्वाजनिक गरेको छ ।

सरकार गठन भएको दुई महिनाभन्दा बढी समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भइरहेको छ । तर, प्रधानमन्त्रीको सचिवालयले शनिबार देउवा नेतृत्वको सरकारले गरेको १५ कामको सूची सार्वजनिक गरेको हो ।

पाँच दलीय गठबन्धनको समर्थनमा सरकारको नेतृत्व गरेको देउवाले ६ जनाको मन्त्रिमण्डल बनाएपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

१७ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । देश आर्थिक ‘सट डाउन’मा पुगेको छ । बजेटसम्बन्धी ३ अध्यादेश प्रतिस्थापन विधेयक संसद्‌मा रहेका छन् र विधेयक पारित हुने सम्भावन न्यून देखिएको छ ।

निर्णयमात्रै भएको विषयलाई पनि महत्वपूर्ण कामको सूचीमा राखिएको छ । कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकै दिन ३ लाख मात्रासम्म कोरोनाविरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुंग्याएको, बाढीपहिरो र पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको सरकारको दाबी छ ।

यस्तै, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब वृद्धि, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ताको घोषणा सरकारको उपलब्धि भएको उल्लेख छ ।

अति विपन्न गरिब घरपरिवारलाई १० हजार रुपैयाँका दरले राहत, राजधानीका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र महिला लक्षित ‘महिला पहिला’ कार्यक्रम, भूमि आयोग गठन पनि १५ वटा कामको सूचीमा समावेश छ ।

यस्तै, एमसीसीमा राष्ट्रिय सहमतिको पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घन्टाघर पुनःनिर्माणको निर्णयलाई पनि सरकारले महत्वपूर्ण कामको सूचीमा राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...