कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्छ : प्रकाशमान सिंह [भिडियाे]

292

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेतृत्वको सरकारले जनभावना अनुसार नै काम गर्नुपर्ने बताएका छन् ।

गणेशमान सिंहको २४औँ स्मृति दिवसका अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले काठमाडौँमा गरेको कार्यक्रममा नेता सिंहले कम्युनिस्टहरुले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेकै कारण कांग्रेस नेतृत्वको सरकार बनेको भन्दै सरकारले जनताको भावना अनुसार काम गर्नुपर्ने बताए ।

उनले गठबन्धन दलहरुबीच कुरा नमिल्दा मन्त्रिमण्डले पूर्णता पाउन नसकेको भन्दै छिट्टै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने दाबी गरे । उनले पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका स्थानमा विधिविधान अनुसार नै अधिवेशन हुनुपर्ने धारणा राखे । त्यस्तै, उनले महाधिवेशनमा साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेता सिंहललगायतका नेताहरुले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

१९७२ साल कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । २०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उनलाई लौहपुरुष पनि भनिन्छ । गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...