कपिलवस्तु । जनताको भावना बुझेर मात्र एमसीसीको विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रवक्ता ज्ञवालीले एमसीसी सम्झौता गर्ने काम सरकारको भएको टिप्पणी गरेका छन् ।
“एमसीसीको विषयमा निर्णय गर्दा १० पटक सोच्ने छौं । एमसीसी सम्झौता एमालेले गरेको होइन,” उनले भने । उनले आफ्नो पार्टीले दुई देश बीचको सम्बन्ध र नेपाली जनताको भावनालाई हेरेर निर्णय लिने बताए ।
“एमसीसी पास गर्ने काम सरकारको हो । सम्झौता राम्रो लाग्छ भने बहुमतले पारित गरेर देखाउनुस्,” ज्ञवालीले भने । दार्चुलाको तुइन प्रकरणप्रति लक्षित गर्दै नेता ज्ञवालीले सरकारले मुद्दा घुमाउन चीनसँग सीमा विवादको कुरा उठाएको दाबी गरे ।
उनले आगामी निर्वाचन जित्नका लागि कार्यकर्तालाई उत्कृष्ट काम गर्नसमेत निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टी फुटे पनि स्थानीय तहका कार्यकर्ताले एमाले नै रोजेको टिप्पणी गरेका थिए । सरकारबाट बाहिरिए पनि जनताको मन मस्तिष्कमा एमालेप्रति मोह रहेको न्यौपानेको दाबी छ ।