काठमाडौँ । क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे हुने उक्त बैठकमा सभापति शेरबहादुर देउवा इतरका शीर्ष नेताहरु उपस्थित हुने बताइएको छ ।
बैठकमा वडा तहको महाधिवेशनका क्रममा भएको विवाद तथा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा डडेलधुरामा प्रहरी प्रशासनको बलमा पार्टी सभापति देउवाले वडा अधिवेशन गरेको र प्रदेश दुईलगायतका जिल्ला क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा छलफल हुन एक नेताले बताए ।
यस्तो प्रवृत्तिले १४औँ महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकाले सभापति देउवालाई खबरदारी गर्न भेला बोलाइएको उनले बताए ।
प्रदेश नम्बर २ का ८ जिल्लासहित विभिन्न २१ जिलामा अझै पनि क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन । भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोज ५ सम्म धकेलिएको छ ।