काठमाडौँ । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवक्ता आफू हुने कि प्रदीप ज्ञवाली भन्ने नटुंगिएको बताएका छन् ।
शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा उनले पार्टीको २ जेठ २०७५ को अवस्थामा प्रवक्ताको व्यवस्था नरहेको बताए । उनले त्यतिबेला प्रचार विभाग प्रमुखका रुपमा आफूले निर्णय सुनाउने र सञ्चारमाध्यमका धारणा राख्ने गरेको स्मरण गरे ।
तर, अहिले प्रवक्ता को हुने भन्ने नटुंगिएको उनको भनाइ छ । अहिले आफूले प्रचार विभाग प्रमुखको रुपमा काम गर्ने भट्टराईले बताए ।
“हाम्रो जिम्मेवारी २०७५ जेठ २ गते फर्काउने निर्णय भएको थियो । त्यतिबेला प्रवक्ता भन्ने थिएन । प्रचार विभाग प्रमुख थियो । त्यसैले मिडियामा आवश्यक जानकारी दिने हुँदा सबैलाई म नै प्रवक्ता हो भन्ने पर्यो,” भट्टराईले भने,“बीचमा प्रदीप ज्ञवाली प्रवक्ता हुनुभयो । अहिले उहाँ प्रवक्ता हुने कि म हुने भन्ने पछि टुंगिन्छ । अहिले चाहिँ मैले प्रचार विभाग प्रमुखको रुपमा काम गर्छु ।”