काठमाडौँ । नेकपा (एमाले)का सांसद्हरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको धारण मागेका छन् ।
प्रतिनिधिसभाको नवौँ अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसद्हरुले एमसीसीबारे पार्टीको धारणा मागेका छन् ।
कतिपय सांसद्हरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । सांसद् निरुदेवी पालले भनिन्,“जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागु हुनुपर्छ भनेर नजाऔँ ।”
यस्तै, सांसद् महेश बस्नेतले पार्टीले एमसीसीका विषयमा साझा धारणा बनाउनुपर्ने बताए । एमाले उपाध्यक्ष भीम रावलले आफ्नै ढंगले एमसीसीका विषयमा बोल्दै आएको र अन्य नेताहरुले अर्को तरिकाले बोल्दा स्पष्ट नहुने भन्दै पार्टीले साझा धारणा बनाउनुपर्ने बस्नेतको भनाइ छ ।
सांसद्हरु बिला विक, जुली महतोलगायतले पनि जनताको भावनाअनुसार निर्णय हुनुपर्ने बताएका छन् ।