सामूहिक हत्या प्रकरण : अनुसन्धानमा नयाँ ‘ट्विस्ट’ भेठियो १५ तोला सुन र ५ लाख नगद

599

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ मा सामूहिक हत्या गरिएका ६ जनाको सामूहिक हत्या प्रकरणमा प्रहरीले घटनास्थलको अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा नयाँ तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटना घटेको घरबाट १५ तोला सुन र ५ लाख नगद फेला परेको घटना बाहिर आएको छ ।

घर खानतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख नगद फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेपनि घटनालगत्तै नगद र सुन फेला पारेपछि अनुसन्धान झनै जटिल बनेको छ ।

“धनमाल चोरीका लागि सामूहिक हत्या गरिएको हुन सक्ने आशंका गर्दै अनुसन्धानलाई तीव्रता दिएपनि पैसा र सुन भेटेपछि अनुसन्धान थप जटिल बन्दै गएको छ,” घटनास्थल पुगेका एक अनुसन्धान अधिकृतले भने ।

हत्या गरिएका ६ जनाको ‘शव जाँच प्रकृति मुचुल्का’ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरिरहेको छ । सोमबार मृत फेला परेका मादी नगरपालिका–१ का ५२ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको टाउकोमा चोट देखिएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले भने,“सबैको टाउकोमा चोट देखिएको छ ।”

ह्यामर जस्ता गह्रौँ वस्तुले हिर्र्काएर सामूहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनास्थलमा अनुसन्धान गर्न लैला र पिपु नामको कुकुर परिचालन गरिएका प्रहरीले जनाएको छ । ‘ट्रयाकर डग’ले गरेको संकेत र सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको एसपी दाहालले बताए । मादी–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, ८ वर्षीय छोरा विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । तेजबहादुरकी आमा, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए । उनीहरुले लगाएको सबै गहना शवसँगै फेला परेको एसपी दाहालले बताए ।

मृतकहरुको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । परिवारका एकजना सदस्य जीवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...