पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । “पार्टी विरोधी क्रियाकलापमा हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो यो । हाम्रो पार्टीभन्दा बाहिरबाट मात्रै त्यो सम्भव थिएन,” उनले भने,“हाम्रै पार्टीभित्र घुसपैठ गरे । हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ ।”
एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपालकै कारण ठाउँठाउँमा एमाले सरकार ढालेर प्रतिक्रियावादीको हातमा सत्ता सुम्पिने काम भएको उनको टिप्पणी छ । “एमाले कहीँ छ भने त्यसलाई हटाउने काममा माधव नेपाल लागेका छन् । प्रदेश १ को सरकार ढाल्न माधव नेपाल लागेका छन् । उनी त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके । एउटा कुपात्रले कुलको नास गर्छ । उनी एमालेका कुपात्र हुन् ।”
मंगलबार पोखरामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग चुनाव लड्न सबै पार्टी एकजुट भएर आउन चेतावनी दिए । “माधव नेपाल पार्टीमा अडिनै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफोरी नसक्ने । जिल्ला जिल्ला र पालिका पालिकामा पुगेर हाम्रा जनप्रतिनिधिहरुलाई कसरी बिगार्न सकिन्छ ? यो दिउँला, उ दिउँला भनेको छ । मेयरको उम्मेदवार दिउँला भनेको छ । मेयरको उम्मेदवार भएर के गर्ने ? जित्ने त एमालेले मात्रै हो,” ओलीले भने,“कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन । अब माधव नेपाल पिउसो, उम्रिन पाएको छैन, एमालेसँग मुक्काबिला गर्ने सोख ? नेकपा एमाले संकल्प बोकेको पार्टी हो ।”
माधव नेपाल र प्रचण्ड मिलेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै ओलीले त्यसलाई एमालेभित्रका युवा पंक्तिले मसाल आन्दोलनबाट जोगाएको बताए । “त्यहीँ पार्टीमा बस्ने, त्यहीँ पार्टीको अध्यक्षविरुद्ध पुत्ला जलाउने । त्यहीँ पार्टीलाई ध्वंस गर्ने । त्यहीँ घरमा बस्ने, त्यहीँ घरमा आगो लगाउने । एकीकरणको बाटो छोडेर गुटबन्दी गरियो । पार्टी कब्जा गर्ने र प्रतिक्रियावादीहरुको पाउमा लगेर पार्टीलाई चढाउन खोजियो,” ओलीले भने,“प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गरे । पार्टी कार्यकर्तालाई धन्यवाद, उनीहरुले पार्टी कब्जा गर्दा पनि एमाले कब्जा हुँदैन भनेर देशलाई सन्देश दिनुभयो । त्यस्तो परिस्थितिमा पनि आन्दोलन गरेर पार्टी जोगाउनुभयो ।”