आफ्नै प्रदेशमा कमजोर भए भीम रावल : १३ सांसद्ले रोजे एकीकृत समाजवादी

305

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (एमाले)भन्दा ठुलो दल बनेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका तीन प्रभावशाली सांसद्ले एकीकृत समाजवादी रोजेपछि नेकपा(एस) एमालेभन्दा ठुलो दल बन्न सफल भएको हो । यसअघि प्रदेशसभामा एमाले सबैभन्दा ठुलो दल थियो । तर, एकीकृत समाजवादीले प्रदेशसभामा सबैभन्दा ठुलो दल बनाउने प्रयासलाई भने जारी राखेको छ ।

एमालेको प्रमुख सचेतक रहेका सांसद् तारा लामा तामाङ, भौतिक योजनामन्त्रीसमेत रहेका दीर्घ सोडारी र पूर्ववनराज्यमन्त्री प्रकाश रावलले समाजवादी रोजेका हुन् । सुदूरपश्चिममा एमालेका १० सांसद्ले यसअघि नै एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।

हब सुदूरपश्चिममा एमालेको सभामुखसहित १२ सांसद् र नेकपा (एस)सँग १३ सांसद् भएका छन् । आइतबार समाजवादीको पक्षमा खुलेका लामा कञ्चनपुर र सोडारी एमालेको जिल्ला अध्यक्षसमेत थिए भने रावल व्यापारीक पृष्ठभूमिका भएपनि एमाले नेता डा.भीम रावलको जोडबलमा मन्त्री बनाइएका थिए । नेता रावललाई अन्तिममा प्रकाश रावलले समेत साथ छोडेका छन् ।

सुदूरपश्चिमा जिल्ला तहका कार्यकर्ता र स्थानीय तहका प्रमुख उपप्रमुखहरु भने अधिकांश एमालेमै बसेका छन् ।

एमालेमा विवाद हुँदा रावलको पक्षमा उभिएका बहुमत सांसद्हरुले उनले माधवकुमार नेपालको साथ छोडेसँगै उनलाई पनि छोड्का छन् । ५३ सदस्यीय प्रदेशसभामा १३ सांसद् मात्र भएका नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन् । यसअघि रावलकै दवावमा एमालेका १७ सांसद्हरुले गत जेठ २५ मा विश्वासको मत दिएका थिए ।

त्यतिबेला राववको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष चलिरहेको थियो । उनको त्यतिबेला सुदूरपश्चिममा पकड बलियो थियो । पार्टी अध्यक्ष ओलीको निर्देशन नमानेका रावल पछिल्लो समय एमालेभित्र कमजोर बनेका छन् । उनको गृहजिल्लामा समेत रावल कमजोर छन् ।

एमाले विवाद हुँदा रावललाई १७ जना सांसद्ले साथ दिएपनि अन्तिममा १३ जनाले साथ छोडेका छन् भने ४ जना सांसद्ले मात्र उनलाई साथ दिएका छन् । एकीकृत समाजवादीले अरु सांसद्हरुलाई समेत पार्टीामा तान्ने कोसिस गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...