काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् । पार्टीको जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोध गर्दै पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।
“एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ । पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन,” उनले भने । एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने,“अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको सम्मिश्रण जिम्मेवारीमा हुन्छ ।”
उनले आफ्नो पार्टीको नेतृत्वको सरकारबाट जसरी बाहिरिनु परेको छ त्यसको हिसाबकिताब आउँदो चुनावबाट देखाउने चेतावनी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि नेपाली नागरिक जयसिंह धामी बेपत्ता घटनामा कूटनीतिक नोटिससमेत पठाउन नसक्ने अहिलेको सरकारबाट धेरस् आशा गर्न नसकिने उनको भनाइ छ ।
“दार्चुलामा अहिले पनि नेपाली सीमा क्षेत्रभित्र भारतीय सेनाका हेलिकोप्टरहरु उडिरहेको खबर आइरहेका छन्,” उनले भने,“तर, सरकारले बोल्न सकेको छैन । कम्फर्टेबल भनिएको सरकारको गतिविधिले राष्ट्रिय स्वधिनता कमजोर बनाएको छ ।”
चीनसँग सीमाको कुनै समस्या नहुँदा पनि समिति बनाउने अहिलेको सरकारले भारतसँगका समस्यका बारेमा चुँ पनि बोल्न नसकेको उनको आरोप छ ।