काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष विगतमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता गरेका व्यक्तिहरुले नै अहिले बोल्न डराएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी कार्यकर्ता भेलामा ओलीले एमसीसीमा सत्ता गठबन्धनको धारण मागे । “यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने ? देउवाजी, प्रचण्डजी बोल्नुपर्दैन । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ । यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,” उनले भने ।
ओलीले सुकुम्बासी आयोग खारेज र आफूले सुरु गरेको योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे । “पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्यो । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,” ओलीले भने ।
ओलीले वर्तमान सरकारले धरहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे । “तपाईंहरु नहुने हो भने भक्तपुरमा एकपटक राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् । देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,” ओलीले भने,“रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मूर्ति भत्काउन सक्छन् । याद गर्नुस् यिनीहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन् । बिगार्दै गएका छन् ।”