काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद् आफ्नो पक्षमा राख्न प्रदेश २ संसदीय दलको बैठक सुरु भएको छ । शनिबार जनकपुरधाम शिव चोकस्थित होटेल वेलकममा बैठक सुरु भएको हो ।
समसामयिक विषयमा संसदीय दलको बैठक बसेको भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जानकारी दिए । उनका अनुसार बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरुको सहभागिता छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तर्फ प्रदेश सांसद्हरुले सनाखत गर्न थालेपछि आफ्ना पक्षमा रहेका सांसद्हरु जोगाउन बैठक बसेको बुझिएको छ । गत बिहीबार समाजवादी फोरमबाट प्रदेशसभामा निर्वाचिन प्रल्हाद गिरिले लोसपाको पक्षमा सनाखत गरेका थिए ।
“पार्टीलाई थप मजबुद बनाउन र समसामयिक विषयमा बैठक बोलाइएको हो,” बैठकमा सहभागी एक नेताले भने,“सांसद्हरुलाई एक ढिक्का भएर पार्टीलाई मजबुत बनाउनु पर्छ ।”
तत्कालीन समाजवादी फोरमका ३० र राजपाका २५ गरी प्रदेश २ प्रदेशसभामा जसपाका ५५ सांसद् छन् । अहिलेसम्म जसपाका ५५ मध्ये १२ जना प्रदेश सांसद्ले लोसपाको पक्षमा सनाखत गराइसकेका छन् ।