जयसिंह धामी घटनालाई थामथुम पार्न खोजियो : एमाले

322

काठमाडौँ । नेकपा (एमाले)ले जयसिंह धामी घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।

धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

“आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

१५ साउनमा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन चुडाइदिएर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...