छानबिन समितिले दार्चुला घटनाको प्रतिवेदन बुझायो

384

काठमाडौं । तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानबिन समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नतामा तुइन काटिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न तथा धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ ।

साथै धामीका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरेको छ । धामी गत १५ साउनमा व्यास–२ मा अवस्थित मालघाटबाट तुइनको प्रयोग गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

घटनापछि सरकारले १७ साउनमा सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...