इंग्ल्यान्डले भारतलाई फराकिलो अन्तरले हरायो

318

काठमाडौं । टेष्ट च्याम्पियनसीप २०२१–२३ अन्तर्गत भारतविरुद्धको तेस्रो टेष्टमा इंग्ल्यान्ड फराकिलो अन्तरले विजयी भएको छ ।

खेलको चौथो दिन आज भारतलाई २७८ रनमा समेट्दै एक इनिङ्स ७६ रनले पराजित गर्दै सिरिजमा १–१ को बराबरी गरेको हो ।

पहिलो पारीमा ३५४ रनको फराकिलो अन्तरले पछि परेको भारतले दोस्रो इनिङ्समा सम्हालिएको प्रदर्शन गरेपनि २७८ रनको स्कोरमा समेटियो ।

भारतका लागि चेतेश्वर पुजराले ९१, रोहित शर्माले ५९, कप्ता विराट कोहलीले ५५ तथा रविन्द्र जडेजाले ३० रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्यान्डका ओली रोबिन्सनले ५, क्रेग ओभर्टनले ३ तथा जेम्स एन्डरसन र मोइन अलीले समान १–१ विकेट लिए ।

हेडिङ्गलेमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो पारीमा ७८ रन मात्र बनाएको थियो ।

घरेलु टोली इंग्ल्यान्डले पहिलो पारीमा कप्तान जो रुटको शतकीय इनिङ्सको मद्धतमा ४३२ रन बनाएको थियो ।

टेष्ट क्रिकेटमा २२औँ शतक प्रहार गरेका रुटले १६५ बलमा १४ चौकाको मद्धतमा १२१ रनको योगदान दिए । यस्तै, पहिलो विकेटका लागि १३५ रनको शतकीय साझेदारी गरेका रोरी ब्रुन्सले ६८ र हसीब हमीदले ६८ रन बनाए ।

इंग्ल्यान्डका डेविड मलानले ७०, क्रेग ओभर्टनले ३२ तथा जोनी बेइस्ट्रोले २९ रनको पारी खेले ।

जितसँगै इंग्ल्यान्डले पाँच खेलको टेष्ट सिरिजमा १–१ को बराबरी गरेको छ ।

यसअघि भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेष्टमा भारत १५१ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...