काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छन् ।
शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने समेत बताइन् ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने बताइन् ।
शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर–बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन् ।
शाक्यले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वाससमेत व्यक्त गरिन् ।