हेटौंडा । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अहिलेको गतिबाट राष्ट्र अघि बढ्दै छ त्यसले राम्रो संकेत नदिएको बताएका छन् । आम नागरिकलाई जस्तै आफूलाई पनि अहिलेको राजनीतिबाट सन्तुष्टी नभएको उनले बताए ।
शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा सबैले विरोध गरेको भन्दै सरकारले अध्यादेश फिर्ता लिनु परेको बताए । अहिले त्यहीँ विरोध गर्नेहरुले अध्यादेश ल्याउँदा लोकतान्त्रिक भयो । उनले भने,“अहिले जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ, त्यसले राम्रो संकेत दिँदैन ।”
उनले पदमा नरहँदा पनि संवैधानिक हिसावले चल्ने भन्दै आफूलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने तत्कालीन प्रधानमन्त्री ओली र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिए ।
बागमती प्रदेश प्रमुखको जिम्मेवारी २०७६ साल कात्तिक १९ गतेबाट सम्हालेका थिए । २१ महिना १६ दिनसम्म प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका प्रसाईंले सक्रिय राजनीतिबाट आउँदा साँघुरो घेराभित्र बसेको महसुस भएपनि सन्तुष्ट रहेको बताए ।
जाँदाजाँदै प्रदेश प्रमुख प्रसाईंले बागमती प्रदेशका प्रदेश प्रमुखमा नियुक्त भएका यादवचन्द्र शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।