दुई दिनभित्र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्छ, नभए विद्रोह
माधव नेपाललाई ‘साथ नदिएका’ नेताहरुको निष्कर्ष
काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र नेपालले नयाँ पार्टी बनाउँदाभन्दा ठुलो क्षति हुने उनीहरुको दाबी छ ।
अध्यक्ष ओली र नेता नेपालाई दवाव दिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए । उनले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेन्डा रहेको जानकारी दिए । नेता विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए ।
त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आजको छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वयन गर्न माग अघि सारेको बताए । उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य नहुने बताए ।
नेकपा एमालेको एकताका लागि आउँदा दिनमा अघि बढ्ने बताउँदै नेता रावलले पार्टीको हितका लागि सबै पंक्तिमा नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको पनि बताए ।
दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनी छ ।