कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्छ : सीमाविद् श्रेष्ठ

422

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार आफ्नो‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म क्षेत्रसहितको भू–भाग समेटेर क्षेत्रफल सार्वजनिक नगररेको भन्दै नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए । उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग किलोमिटर थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।

“अब नेपालको बढेको क्षेत्रफल कति हो त ? साविकमा १ लाख ४७ हजार १८१ वर्ग किमि थियो भने कति बढ्यो ? अहिलेसम्म सरकारले सार्वजनिकीकरण गरेको छैन । यसले गर्दा लोकसेवा आयोगका परीक्षार्थीहरुलाई मार परेको छ,” उनले भने,“मैले आफैँले विभिन्न नक्सा अध्ययन गरेर हेर्दाखेरि साविक क्षेत्रफलमा ८२६ वर्ग किमि भू–भाग थपिएको मलाई लाग्छ । त्यसमा सरकारले भन्नुपर्दछ भन्ने मलाई लाग्छ ।”

नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफूले भोगेको अनुभुतिहरुसमेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए । नेपालको चुच्चे नक्साको द्वन्द्व, चुच्चे नक्सालगायत सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझुन् भन्ने उद्देश्यसाथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...