‘सधैँ हरियो रुख लगाए पनि पात झरिरहेको हुन्छ’

327

काठमाडौं । नेकपा (एमाले)को विभाजनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रुखबाट पात झरिरहने प्रक्रियासँग तुलना गरेका छन् ।

बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै उनले संसारमा पात नझर्ने रुख नभएको बताए ।

“तपाईंहरुले अलिकति नमीठो पनि मान्नुभयो होला । हिजो केही मान्छेहरु, कोही समातिएर घिसारिँदै, कोही समातेर घिसार्दै निर्वाचन आयोगमा पुगेको देख्नुभयो होला । केही मान्छेहरुले पार्टी छोड्नु नयाँ कुरा होइन । तपाईं सधैँ हरियो देखिने रुख लगाउनुस् तर पनि कोहीकोही पात झरिरहेको हुन्छ । कोहीकोही पात पलाइरहेको हुन्छ । पातै नझर्ने, झर्दै नझर्ने रुख संसारमा हुँदैन । यो सिलसिला नै हो,” उनले भने ।

ओलीले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व जिम्मेवार व्यक्ति रहेको बताए ।

“मेरो कुरा सुन्दा तपाईंहरु सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ,” उनले भने ।

अध्यक्ष ओलीले देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न अपिल गरे ।

Share This:
सम्बन्धित खबर
Loading...